काठमाडौं । नागरिक लगानी कोषको सञ्चालक समितिबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हट्ने भएका छन्। नागरिक लगानी कोष ऐन संशोधन गर्न लागिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
अहिले कोषको सञ्चालक समितिमा नेपाल सरकारले नियुक्त गरेको विज्ञ व्यक्ति अध्यक्ष रहने व्यवस्था छ ।
त्यसबाहेक सञ्चालकहरूमा नेपाल सरकारका सहसचिव, राष्ट्रिय बिमा कम्पनीको प्रशासक, नेपाल स्टक एक्सचेन्जको सीईओ, बैंक वित्तीय वित्तीय संस्थामध्येबाट एक जना, बैंकिङ तथा पुँजी बजारसम्बन्धी विशेष ज्ञान भएको व्यक्ति मध्येबाट एक जना, सर्वसाधारण सेयर धनीबाट एक जना र कोषका कार्यकारी निर्देशक एक जना रहने व्यवस्था छ । तर संशोधित विधेयकको मस्यौदामा अरू सबैलाई यथावत् राख्दै नेप्सेको सीईओलाई भने हटाउने व्यवस्था गरिएको छ ।
प्रस्तावित संशोधनमा कोषको अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने, लगानी क्षेत्र फराकिलो बनाउने र सञ्चालक समितिको अधिकार हेरफेर गर्ने प्रावधान पनि समावेश गरिएको छ।





