काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व–पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको दाबी गरेका छन् ।
बीपी सङ्ग्रहालय सुन्दरी जलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरे पनि कल्पना बीपीको रहेको बताए । नेपालमा जनताको सेवाका लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशका लागि बीपीले गरेको काम जति अरू कसैले पनि गर्न नसकेको बताए ।
सांसद कोइरालाले भने, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महसुस भयो। बीपी सम्झिँदा आँसु आउँछ। उहाँले जति देशका लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन। १२/१४ वर्ष त जेल बस्नुभयो। भारतमा आन्दोलनमा जेल बस्नुभयो। पूर्व–पश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो। हुनतः महेन्द्र सरकारले गर्नुभयो। तर कल्पना बीपी कोइरालाको थियो।’







