निक्की र गोवा चेम्बरबीच सम्झौता, लगानी र आर्थिक सहकार्य प्रवर्द्धन गर्ने समझदारी

काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग महासंघ (निक्की) र गोवा वाणिज्य तथा उद्योग महासंघ (जीसीसीआई)बीच भारतको गोवा राज्य र नेपालबीच आपसी व्यापार, सीमा पार लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी गरिएको छ ।

समझदारीपत्रमा निक्कीका अध्यक्ष सुनील केसी र गोवा चेम्बरकी अध्यक्ष प्रतिमा धोण्डले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीको उद्देश्य व्यापार, लगानी, उद्योग तथा पर्यटनका क्षेत्रमा आपसी समझदारी, जानकारी आदानप्रदान र व्यवसायिक सम्पर्क विस्तार गरी सहकार्य सुदृढ गर्नु रहेको निक्कीका अध्यक्ष केसीले बताए । दुई संघबीच आर्थिक प्रवृत्ति, लगानी परिवेश, सरकारी नीति, क्षेत्रीय अवसरहरू तथा विविध जानकारीहरू आदानप्रदान गर्न यस सहकार्यले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

समझदारीअनुसार निक्की र गोवा चेम्बरले द्वैपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, संयुक्त बैठक, व्यापार मेला, प्रदर्शनी तथा व्यापार सम्मेलनहरू आयोजना गर्न सहयोग गर्ने छन्। गोवा चेम्बरकी अध्यक्ष धोण्डले समझदारीले दुवै देशका उद्यमीहरूलाई साझेदारी, लगानी परियोजना तथा प्रविधि स्थानान्तरणमा नयाँ सम्भावनाहरू खोज्न सहयोग गर्ने बताइन् ।

आपसी चासोका विषयमा हरेक वर्ष कम्तीमा एक पटक संयुक्त विषयगत फोरम, सम्मेलन, गोष्ठी वा गोलमेच कार्यक्रम आयोजना गरिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *