काठमाडौं । मञ्जुश्री फाइनान्स बुटवल शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फाइनान्स र नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा सेवा दिने विशेषज्ञ चिकित्सकहरू डा. सुमन पौडेल, डा.राजीव शाह स्त्रीरोग विशेषज्ञ, डा. पटल गिरी-आन्तरिक रोग विशेषज्ञ, डा. सम्राट पराजुली अस्थिरोग विशेषज्ञ रहेका थिए ।
कार्यक्रमको अध्यक्षता दया बहादुर शिलबालले गरेका थिए । विशिष्ट अतिथि सुबास अर्याल, शाखा प्रबन्धक मञ्जुश्री फाइनान्स बुटवल शाखा, स्वागत मन्तव्य नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले दिएका थिए ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुबास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।





