काठमाडौं । ‘आफ्नै हात जगन्नाथ’ भन्ने उखान ग्लोबल आईएमइ बैंकका कर्मचारीसँग ठ्याक्कै मेल खाएको छ।बैंकमा कार्यरत कर्मचारीले आफ्नै नाममा कम्पनी खडा गरी बैंकको व्यापार प्रबर्द्धन तथा सामाजिक उत्तरदायित्वको रकम आँफैले लिँदै आएको पाईएको छ ।
कर्मचारीको यस अवैध धन्दामा बैंकका सिनियर व्यवस्थापनकै मिलेमतो रहेको तथ्य बाहिरिएसँगै सार्वजनिक निकायको सँस्थागत सुशाशनमाथि समेत गम्भीर प्रश्न खडा भएको छ। यस घटनापछि बैंकभित्र उनी लगायत अन्य कर्मचारीले पनि अवैध रुपमा रकम लिँदै आएको हुन सक्ने आशंका गरिएको छ।
ग्लोबल आईएमइ बैंकको मनमैजु साखामा कार्यरत प्रभा पन्थीले ‘थर्ड पोल मिडिया ग्रुप’ संचालन गरी बैंकको व्यापार प्रबर्द्धन तथा सीएसआरमा खर्च गर्नुपर्ने रकम आफ्नै निजी/ साझेदारी कम्पनीमा प्रवाह गर्दै आएको तथ्य भेटिएको हो। यस कार्यमा व्यापार प्रबर्द्धन प्रमुख समेत रहेका उनका श्रीमान् योगेश पोखरेल प्रत्यक्ष संलग्न देखिन्छन्। पोखरेलले आँफू ‘ब्रान्डिंङ हेड’ भएको मौकामा व्यापार प्रबर्द्धनका लागि छुट्याइएको रकम श्रीमतीको नाममा कम्पनी खोली निरन्तर २ लाख ( भ्याट बाहेक) रुपैयाँ उक्त कम्पनीको खातामा जम्मा गर्दै आएको देखिन्छ। यधपी उक्त कम्पनीमा पोखरेलका सहपाठीद्वयका श्रीमतीहरु पनि हिस्सेदार छन्।
पोखरेल ग्लोबल आईएमइ बैंकका कर्मचारी हुन्, तर उनले चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमइ समूहका निजी कम्पनीहरु देखि ढकाल अध्यक्ष रहेको नेपाल उद्योग वाणिज्य महासंघ समेतको व्यक्तिगत काम गर्दै आएका छन्। त्यसो त ग्लोबल आईएमइ बैंकका उच्च व्यवस्थापनदेखि अन्य जुनियर कर्मचारी समेत ढकालको निर्देशनमा बैंकभन्दा बढी निजी कम्पनीका काममा अभ्यस्थ देखिन्छन्।
यस बिषयमा नेपाल राष्ट्र बैंकमा पट-पटक उजुरी परेको भए पनि ढकालको पावरका अघि नियामक निकायनै मतियार बनेको छ। कारबाही त परै जावस्, राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धान समेत गर्ने हिम्मत गरेको छैन। बिषयको जानकारी लिएर तेस्रो त्रैमासमा पनि ‘यो वित्तीय अपराध हो’ भन्दै बैंक सुपरिवेक्षणमा गएका अधिकारीहरुले बैंकको न्यानो आतिथ्य सत्कार भेटेपछि अपराध नै नभएको भन्ने प्रिलिमिनरी रिपोर्ट बुझाएको भेटिएको छ।
यस बिषयमा पन्थीले आफ्नो प्रतिक्रिया दिएकी छन्। उनले भनेकी छन्,- ,”म ग्लोबल आईएमइ बैंककी कर्मचारी हुँ। उक्त कम्पनीमा म शेयर होल्डर मात्र छु, मिडियातिर म छैन। उनले बिषयलाई थप प्रस्ट्याउँदै भनेकी छन्, मेरो श्रीमान पनि मिडियामै काम गर्ने भएकाले साथी-साथी मिलेर मिडिया खोल्नुभएको हो। म मिडियासम्बन्धी खासै बुझ्दिन।”
पन्थीले उक्त कम्पनी आफ्नो भएको तर कारोबार भने पोखरेलले गर्दै आएको बिषय स्वीकार गरेकी छन्। बि.सं २०७७ सालदेखि उक्त कम्पनीमार्फत् न्युजपोलार डटकम संचालन हुँदै आएको छ।
कानुनी व्यवस्था के छ, कस्तो हुन्छ कारबाही ?
बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐनको दफा ८२ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘कर्मचारीले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त सार्वजनिक संस्थाका कर्मचारी र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्र प्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन । परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।’
त्यस्तै,बाफियाको दफा ९९ को (ङ) मा यस ऐन विपरीत वा अस्वाभाविक तलव भत्ता तथा अन्य सुविधा कुनै बैंक वा वित्तीय संस्थाले लिएको वा दिइएको भएमा त्यस्तो सम्पूर्ण सेवा सुविधा वा सो बापत लाग्ने रकम तथा प्रचलित कानून बमोजिमको व्याज त्यस्तो सेवा सुविधा दिने व्यक्तिबाट असुल उपर गर्ने व्यवस्था गरिएको छ। साथै सोहि दफाको (च) मा बैंक तथा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारी व्यावसायिक रुपले सम्बद्ध भएको निकाय समक्ष कारबाहीका लागि लेखी पठाउन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई आदेश दिने व्यवस्था गरिएको छ।
यस सम्बन्धमा हामीले बैंकका सूचना अधिकारी सुमन पोखरेललाई बारम्बार टेलिफोन सम्पर्क गर्दा प्रतिक्रिया नदिएपछि गुनासो अधिकारी अनिल जोशीले बिषयमाथि अनुसन्धान गर्ने बताएका छन्। उनी भन्छन्, ‘यस बिषयमा हामीलाई जानकारी थिएन। यदि यस किसिमको वित्तीय अपराध भएको भेटिए कारबाही हुन्छ।’ कर्मचारी विनियमावली अनुसार सार्वजनिक सँस्थामा रहेर व्यक्तिगत लाभ लिने कर्मचारीलाई निलम्बन गर्ने तथा केन्द्रिय अनुसन्धान व्युरोलाई पत्राचार गरी पक्राउ गर्न सिफारिस गर्ने सम्मको कारबाही हुने उनको भनाई छ।
यस सम्बन्धमा राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक किरण पण्डितले वित्तीय अनियमितामाथि अविलम्ब छानबिन गरी आवश्यक कारबाही गर्ने बताएका छन्। उनी भन्छन्, ‘यदि बैंकभित्र यस्ता किसिमका अनियमितता र वित्तीय अपराध भएको भेटिएमा सम्बन्धित बैंक तथा व्यक्तिमाथि समेत कडाभन्दा कडा कारबाही हुन्छ।’ अपराध गर्ने कर्मचारी या व्यवस्थापक जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याईने र दोषी भेटिए बैंकबाटै हटाईने उनको भनाइ छ।
यो पनि
ग्लोबल आईएमई बैंकमा वित्तीय अपराध: कर्मचारीकै ‘मिडिया ग्रुप’,व्यापार प्रवर्द्धनका नाममा ‘ब्रम्हलुट’





