काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले नेपाललाई तीव्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्व अपरिहार्य रहेको बताएका छन्।
पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै आचार्यले लोकतन्त्रको लडाइँ अब बाँकी नरहेको भन्दै देशले अब आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेबिषय औंल्याए।
उनले छिमेकी राष्ट्रहरू चीन र भारत क्रमशः विश्वका दोस्रो र तेस्रो ठूला अर्थतन्त्रका रूपमा स्थापित भइरहेका बेला नेपाल अनावश्यक बहसमा अल्झिनु नहुनेमा जोड दिए।
आचार्यले अहिलेको अवस्थामा दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री देशलाई चाहिएको बताए।
“अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ,” आचार्यले भने, “आर्थिक एजेण्डामा काम गर्ने प्रधानमन्त्री चाहिन्छ। नेपालमा अब लोकतन्त्रको लडाइँको मुद्दा छैन। अब एउटै मुद्दा छ–यो देशलाई तीव्र गतिले विकासमा लैजाने।”
आचार्यले देशको राष्ट्रियता र अस्मिताको रक्षाका लागि पनि आर्थिक विकास महत्त्वपूर्ण रहेको जिकिर गर्दै भने, “छिमेकी देश भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्रियामा पुगेको छ। दोस्रो ठूलो अर्थतन्त्र छिमेकी मुलुक चीन छ। यी दुई देशहरूलाई एकीकृत गर्न छाडेर अनावश्यक टिप्पणी र बहस गर्नमा बस्यौं भने कसरी हामीले हाम्रो देशको अस्मिताको रक्षा गर्न सक्छौं?”
उनले देशको राष्ट्रियतालाई बलियो बनाउन ऊर्जावान युवाहरूको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै युवाहरूलाई विदेशमा प्रयोग हुन बाध्य पार्ने कामले देश अगाडि बढ्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।







