काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। उनी वि.सं २०६६ सालदेखि ०७५ सालसम्म बैंकको अध्यक्ष थिए ।
उनलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।
यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।







