काठमाडाैं। सरकारले देशभर रिक्त रहेका जनप्रतिनिधिका पदमा उपनिर्वाचन गर्ने तयारी थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदमा निर्वाचन मिति तोक्ने विषयमा निर्वाचन आयोगसँग परामर्श गरिएको हो।
रुपन्देही–३ मा सांसद दीपक बोहराको निधन र मनाङ–१ (२) का प्रदेशसभा सदस्य दीपक मनाङेको पद रिक्त भएपछि कात्तिक दोस्रो सातामा उपनिर्वाचन गर्ने तयारी गरिएको छ। असार १६ भित्र निर्वाचन आयोगले मिति तोक्नेछ।
त्यस्तै, देशभरका १३ वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ।
शुक्रबार सिंहदरबारमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी निर्वाचन तयारीबारे जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट आवश्यक सहजीकरण र सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधार, सगुनशमशेर जबरा र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूको सहभागिता थियो।






