व्यवसायीले गभर्नरलाई भने- बैंकहरुले जबरजस्ति धितो लिलाम गर्छन्

 

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना व्यवसायी र सर्वसाधारणसम्म कर्जा पुग्नुपर्ने बताएका छन् । बैंकको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित भएको भन्दै उनले रकम  साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकको पैसा धेरै मानिससम्म पुर्‍याउनेमा  आफ्नो कार्ययोजना रहेको बताए ।

धनुषाका व्यापारीहरूले विगतमा बैंकहरुले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरे यसको जवाफमा गभर्नर पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैंकलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने चेतावनी समेत दिए ।

छलफलमा व्यवसायीहरूले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । त्यस्तै, छलफलमा बैंकका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर नतिर्नेको संख्या धेरै भएको जानकारी गराए ।

धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ । ‘मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,’ उनले भने,‘त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।’

छलफलमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरेका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *