बैंकिङ क्षेत्रको सुधार र सुदृढीकरणका लागि नेपाल राष्ट्र बैंकले तीन सदस्यीय सुझाव कार्यदल गठन गरेको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलमा भुवनकुमार दहाल सदस्य र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन्।
राष्ट्र बैंकले कार्यदललाई एक महिनाभित्र कार्यसम्पादन गरी सुझाव पेश गर्न समयावधि तोकेको छ। कार्यदलले बैंकिङ नीति तथा नियमनलाई उदार तर विवेकपूर्ण बनाउने, जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण प्रणाली विकास गर्ने र सेवाप्रवाहलाई ग्राहकमैत्री बनाउने सम्बन्धी विषयमा अध्ययन गरी सिफारिस पेश गर्नुपर्नेछ।
त्यसैगरी, आर्थिक गतिविधि सक्रिय बनाउन बैंकिङ प्रणालीको भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई बढावा दिन आवश्यक नीतिगत र प्राविधिक पहल, तथा हालसम्म भएका बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति प्रक्रियाबाट उत्पन्न चुनौतीहरूको पहिचान र समाधानका उपाय कार्यदलको अध्ययनको क्षेत्र हुनेछ।
राष्ट्र बैंकले कार्यदललाई नेपाललाई फाइनान्सियल एक्शन टास्क फोर्सको ग्रे लिष्टबाट हटाउने प्रक्रियामा बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका स्पष्ट गर्न र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा समेत सिफारिस तयार पार्न जिम्मा दिएको छ।
नवगठित कार्यदलले व्यापक अध्ययन र सरोकारवालासँगको परामर्शका आधारमा स्पष्ट र कार्यान्वयनयोग्य सुझाव दिने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले यो कदमलाई बैंकिङ प्रणालीको विश्वसनीयता, स्थायित्व र समावेशी वित्तीय पहुँच प्रवर्द्धन गर्ने दिशामा महत्त्वपूर्ण प्रयासका रूपमा व्याख्या गरेको छ।








