एयर इन्डियाको जहाज दुर्घटना : चालक दलसहित २४२ जना यात्रुमा कोही नेपाली नभेटिएको पुष्टि

काठमाडौं । भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । जसमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको जनाइएको छ । लण्डन जाँदै गरेको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । दूतावासका त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएको दूतावासले जनाएको छ । अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो ।

पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् । एयर इन्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन । घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको छ ।

जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडिओ खिचेका थिए । उक्त भिडिओका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ ।

त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन् । घरमाथि जोतिनेतबित्तिकै ठूलो विस्फोटको आवाजसहित आगोलागी भएको थियो । आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन् । अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो । यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *