काठमाडाैं । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ ।
समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमीपूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् ।
“यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,” भाटभटेनीका सीओओ पानु पौडेलले भने ।
यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यतः स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउनेछ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।







