एमालेको भन्दा राजावादीको जुलुस ठूलो देखियो: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता र दलप्रतिको असन्तुष्टिसँगै युवामा आएको नैराश्यका कारण नेकपा (एमाले)को जुलुसभन्दा राजावादीको जुलुस ठूलो भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले अहिलेका नेताहरूको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए ।  राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने भन्दै उनले राजनीति गर्दा नैतिकवान भएर गर्नुपर्ने सुझाव दिए ।

“राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसभन्दा एमालेको जुलुस किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरूमा नैराश्य छ । उनीहरूले बाटो खोजिरहेका छन् । उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही चार जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरूको मन जित्न सक्नुपर्छ,” उनले भने ।

उनले सरकारले गरेका गलत कामलाई गलत भन्न सक्नुपर्ने भन्दै  प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उत्तेजित भएकै कारण आफूले गलत भनेको उनको भनाइ छ ।

उनले पार्टीको पदाधिकारी बैठकमा आफूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने सोचे पनि आफ्नोबारे चर्चा गरिएको प्रति आपत्ति जनाए । ‘मलाई त लागेको थियो, पदाधिकारीको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहितका बिषयमा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ, हाँसो लाग्यो ।’

ठिकै छ, सहनुपर्छ । राजनीतिमा सहनशीलता हुनुपर्छ । हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ,” उनले भने । नेता कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

“अब एकपटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु । हामीले गलत काम नगरौँ, सही काम गर्न सक्दैनौँ भने चुप लागेर घरमा बसौँ । तर, गलत काम नगरौँ,” उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *