काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च पदमा रहेका व्यक्तिलाई नेपाली मिडियाले प्रयोग गर्ने ‘तिमी’ सम्बोधनप्रति आपत्ति जनाएका छन्।
गोरखापत्र संस्थानको १ सय २५औं वर्ष प्रवेशका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे’ भन्ने नेपाली भाषा नभएको बताएका थिए।
उनले ‘तिमी’ जस्ता सम्बोधनले भाषाको गरिमा र उचाइलाई कमजोर बनाउने तर्क गरे। ‘राजतन्त्रकालमा राजाले ‘नजर गर्थे,’ ‘सवारी गर्थे,’ ‘सुकला हुन्थ्यो’ भनिन्थ्यो। राजतन्त्र हटेपछि जनताका छोरालाई किन सम्मान नगर्ने ? भाषा गरिब भए पनि हामीले आफ्नो भाषाको कद घटाउनुहुन्न,’ उनले कार्यक्रममा भने।
उनले गोरखापत्रमा कुनै प्रधानमन्त्री वा सरकारी अधिकारीले हस्तक्षेप नगर्ने उल्लेख गर्दै आफ्नो विवेक प्रयोग गरेर लेख्न स्वतन्त्र रहेको पनि उल्लेख गरेका थिए।






