एनसेलले तिर्‍यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर

काठमाडौं । सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।

देशमा आईसीटीको विकास र प्रवर्द्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’ का रूपमा मनाइँदै आएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र समृद्ध नेपाल अभियानमा गत आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट सबैभन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा स्थापित रहँदै आएको छ ।

‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को यस विशेष अवसरमा आईसीटीको क्षेत्रमा हाम्रो योगदानलाई कदर गर्दै सरकारबाट यो सम्मान प्राप्त गर्न पाउँदा हामी धेरै खुसी छौं । धेरै कर तिर्ने करदातामध्ये एकका रूपमा एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत सरकारलाई करमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘देशको आईसीटी विकास र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिन पाउँदा हामी गर्व गर्छौं । हाम्रो थिम ‘हामी तपाईंकै लागि’ को मूल मर्मअनुसार हामी आईसीटीको विकासमा निरन्तर योगदान गर्दै डिजिटल नेपालको भिजन अनुसार डिजिटल भविष्यका लागि कार्य गर्न प्रतिबद्ध छौं ।’

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायत सम्मान पाइसकेको छ । गत पुसमा पनि संस्थागततर्फ गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको थियो ।

एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३ खर्ब ४० अर्बभन्दा बढी कर तथा शुल्क तिरेको जनाएको छ । गत आवमा मात्रै कम्पनीले २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्क सरकारलाई बुझाएको थियो।

त्यसैगरी एनसेल फाउन्डेसन मार्फत कम्पनीले आफ्नो सीएसआर अन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदाय स्तरसम्म पुगेर देशभरिका १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *