वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कडा निगरानी – स्ट्यान्डर्ड चार्टर्डसहित ५ बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित ५ वाणिज्य बैंकलाई कारबाही गरेको छ।

राष्ट्र बैंकले तेस्रो त्रैमासमा यी सबै बैंकलाई पहिलोपटक कारबाही गरेको हो। राष्ट्र बैंकको कारबाहीमा पर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंक लिमिटेड रहेका छन्।

सुपरिवेक्षण विभागले इजाजतपत्र प्राप्त क वर्गका बैंक, बैंक अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई आव २०८१/८२ को तेस्रो त्रैमासमा गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै उक्त अवधिमा नियम उल्लंघन गरी व्यवसाय गर्ने बैंकलाई नसिहत दिने सचेत गराउनेदेखि करोडौं रुपैयाँ जरिवानासम्म गराएको छ।

राष्ट्र बैंकको निर्देशन अटेर गर्ने स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई करोडौ रूपैयाँ नगद जरिवाना तिराएको छ। बैंकले उक्त अवधिमा आव २०८१/८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्तसम्मको अवधिमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कमकर्जा प्रवाह गरेको पाइएकाले १४ करोड ८५ लाख २५ हजार पाँच सय ६६ रुपैयाँ जरिवाना तिराएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट बैंकले नियम उल्लङ्घन गर्ने राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई सचेत गराएको छ। बैंकले एकीकृत निर्देशनको व्यवस्था बमोजिम सूक्ष्म निगरानी कर्जा र निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनको पालना नगरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहलाई नसिहत दिएको छ।

त्यसैगरी, नेपाल बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौताअनुसार उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीबीच आपसी समन्वय गर्न/गराउन नसकेको देखिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेलाई सचेत गराइएको छ भने अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहेको पाईएपछि राष्ट्र बैंकले नेपाल बैंकलाई नगद ५ लाख रुपैयाँ जरिवाना गराएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *