काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ७०औं वार्षिकोत्सव मनाउँदैछ । २०१३ सालको यही दिन अर्थात् वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७०औं वर्षमा प्रवेश गरेको हो ।
यस अवसरमा विशेष कार्यक्रमका साथ वार्षिकोत्सव मनाइँदैछ । तर, यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक अन्तरिम नेतृत्वको भरमा चलिरहेको छ ।
राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो ।
सबैभन्दा पहिलोपटक २०३० सालमा वार्षिकोत्सव मनाउँदा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा थियो । गभर्नर डा. यादव पन्तको कार्यकाल सकिएपछि त्यतिवेला ११ दिनका लागि नेतृत्व खाली भएको थियो । सोही समयमा वार्षिकोत्सव पर्न जाँदा उत्सव नेतृत्वविहीन भएको हो ।
२०६६ सालमा राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । गभर्नर विजयनाथ भट्टराईविरुद्ध अदालतमा मुद्दा दायर भई निलम्बन परेको समयमा समेत राष्ट्र बैंक नेतृत्वविहीन रूपमा वार्षिकोत्सव मनाउनु परेन । त्यतिबेला सरकारले दीपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरेको थियो ।
अहिले सरकारले राष्ट्र बैंकको नेतृत्व छनोट गर्न नसक्दा नेतृत्वविहीनतामै आधार दशकभन्दा लामो समयपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउनुपर्ने अवस्था सिर्जना भएको हो ।
अहिलेसम्म राष्ट्र बैंकमा १७ जना गभर्नर भएका छन् । १८औँ गभर्नर छनोटको प्रक्रिया अहिले अवरुद्ध भएर बसेको छ ।






