दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयर पुनः बिक्री खुला, छुटेकाले आजदेखि आवेदन दिन पाउने

काठमाडाैं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुनः हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला अवधि थप गरेको छ। कम्पनीले गत चैत १९ गतेदेखि बैशाख ८ गतेसम्म निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिन छुट भएका सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा पुनः आवेदन खुल्ला गरेको हो।

कम्पनीको हकप्रद सेयरमा बैशाख १२ अर्थात आजदेखि बैशाख १४ गते आइतबारसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सोही निष्काशनमा हकप्रद सेयरमा आवेदन दिन छुटेका, गत फागुन १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीहरुलाई आवेदन दिने अन्तिम मौका दिएको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ’मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *