काठमाडौं। बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध डेढ अर्ब बिगोसहित जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको छ।
वन तथा वातावरण मन्त्रालयले थापाविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ बिगो कायम गरेर मुद्दा दायर गरेको हो। थापासहित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ।
सरकारको स्वीकृति बिना सर्लाहीको बागमती नगरपालिका ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मूर्तिया सेक्टरअन्तर्गत कमैया क्षेत्रको वन क्षेत्रमा गैरकानुनी रूपमा करिब १७३.०० हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण गरी बागमती माछा पोखरी (भरत ताल) निर्माण भएको थियो।
उनीहरुमाथि ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी निकासी गरेको आरोप छ। मूर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्रभित्र करिब ८१५.२० हेक्टर वन क्षेत्र कृषि क्षेत्र, बस्ती क्षेत्र आदीको रूपमा समेत वन अतिक्रमण भएको आरोपपत्रमा उल्लेख छ।
उनीहरूविरुद्ध पाँच वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्मा जरिवाना वा दुवै सजायको माग गरिएको छ।






