काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैँकको आगामी गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न राखेको प्रस्तावमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका छन्।
राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न आफूले राखेको प्रस्तावमा ओलीले सहमति जनाएको बुढानिलकण्ठस्थित आफ्नै निवासमा बिहीबार आयोजित पदाधिकारी बैठकमा जानकारी गराएको एक सहभागीले बताए।
हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको बुझिएको छ। संयन्त्रको बैठकअघि देउवा र ओलीबीच एक्लाएक्लै बैठक भएको थियो।
समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ।
गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन् बताईएको छ।
प्रधानमन्त्री ओलीले कायममुकायम गभर्नरको जिम्मेवारी निर्वाह गरिरहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन भने पनि देउवाले डा. भट्टको नाम प्रस्ताव गरेका थिए।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ छवि भएका र सक्षम व्यक्ति मानिन्छन्। आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि संस्थागत अनुभवी उनी राजनीतिक ‘खेल’ बाट टाढै रहेका व्यक्ति हुन्।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएपछि गभर्नर पद खाली छ।






