फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल)ले फुटबलर रोबर्टो कार्लोसलाई बैशाख ६ मा स्वागत गर्ने निश्चित भएको छ । प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस उपस्थित हुने भएपछि नेपाली खेल प्रेमीहरूमा उत्साह थपिएको छ ।

लिगका दुई लोकप्रिय र बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने यो भिडन्त केवल एक खेल मात्र नभई गत वर्षको फाइनलको पुनरावृत्ति पनि रहनेछ । दुई पटक फाइनलमा पुगेको धनगढी एफसी अझै आफ्नो पहिलो एनएसएल उपाधिको खोजीमा छ, जबकि ललितपुर सिटी एफसी आफ्नो उपाधि रक्षा गर्ने तयारीका साथ डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा प्रवेश गर्नेछ ।

फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन् । फिफा विश्वकप र चार ला लिगा उपाधिहरूसहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् ।

कार्लोस क्वालिफायर खेलको एक दिन अघि बैसाख ५ गते नेपाल आइपुग्ने छन्। सोही दिन उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । उनको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ ।

रोबर्टो कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ । एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो ।

नेपालको प्रमुख फ्रेन्चाइज-आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ । रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थिति सँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदैछ । खेलका टिकटहरू खरिदका लागि खल्ती एपमा उपलब्ध हुनेछन् । प्रशंसकहरूले फोनबाट सजिलै आफ्नो टिकट बुक गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *