काठमाडौं । नेकपा एमालेले वैशाख ११ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेले लोकतन्त्र दिवसको अवसर पारेर एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ ।
नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् ।
काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने थेवेले बताए ।
युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौँमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो ।
‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौँमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री आलीले शुक्रबार बुटवलमा भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’
युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको पनि ओलीको भनाइ छ ।






