काठमाडाैं । सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणघाटमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।
करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन् । यो होटल नारायणघाटको पुल्चोकबाट ५०० मिटर दुरीमा छ । बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि यो भरपर्दो होटल हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।
होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ । कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको योजना बनाएको छ ।
सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने बताए ।
सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन्। त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ ।
हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन् ।






