काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबारको बैठकमा उनले काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा मानव अधिकार उल्लङ्घन भएको भन्दै सो घटनामा पूर्वराजा शाहको संलग्नता स्पष्ट पार्न आवश्यक रहेको बताए ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले पूर्वराजा नेपाली नागरिक नै भएकाले समितिमा छलफलका लागि बोलाउनु पर्ने बताए ।
‘पूर्वराजा शाह अहिले एक जना नेपाली नागरिक हुनुहुन्छ। उहाँलाई समितिमा बोलाऔं र सोधौं यो मानव अधिकार उल्लङ्घनको घटना तपाईंको संलग्नतामा भयो कि भएन? तपाईंले नागरिकको हैसियतमा यस्तो गर्न पाउनुहुन्छ कि हुँदैन? यसबारेमा स्पष्ट छलफल आवश्यक छ,’ उनले भने ।






