काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई मन्त्रालयमै वार्ताका लागि बोलाएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार वार्ताका लागि साँझ ५ बजेको समय तोकिएको छ तर शिक्षक प्रतिनिधि समयमै उपस्थित हुन्छन् वा केही ढिलाइ हुन्छ, भन्ने अहिले नै निश्चित भन्न सकिने अवस्था छैन।
यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ र महासंघ वार्तामा जाने तयारीमा रहेको छ ।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।







