काठमाण्डौ। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आज (चैत २७ गते) आफ्नो १२औं वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा बिहान ११ बजे बागलुङ नगरपालिका–७ स्थित होटल पिस प्यालेसमा सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको ६.०५ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। सो लाभांशमा ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।
बोनस सेयर वितरणपछिको पुँजी वृद्धिअनुसार बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। त्यसैगरी, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँबाट ११०.७१ प्रतिशत अनुपातमा अर्थात् ६३ करोड ७ लाख १३ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा अनुमोदन गरिनेछ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ। यस्तै, साधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि आजको सभाबाट गरिनेछ।
बैंकले चैत १५ गते बुक क्लोज गरेकाले १४ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।







