नबिल बैंक र पोखरा विश्वविद्यालयबीच ‘दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच’ कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेका छन् ।
नबिल बैंकले विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्झौता गरिएको जनाएको छ ।
सम्झौताले बैंक र विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको सीइओ शाहले बताए । उनले भने– ‘यस सम्झौताले उद्यम गर्ने सोचसँगै त्यससम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्नेछ ।’
त्यस्तै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. थापाले नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यसका लागि विश्वविद्यालयको सधैँ सहयोग रहने बताए ।
बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशिलता विकासको लागि ल्याइएको उक्त कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।