हेफर कार्यक्रमले साना किसानलाई उद्यममा जोड्दै, वालिङमा १३ सय घरधुरीको सहभागिता

काठमाडाैं। स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो ।

नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो ।

नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए ।

साना किसानको गोठ सुधार,बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ ।

समीक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधीमा नै उत्कृष्ट काम गर्न सफल भएको बताए । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको बताए ।

साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिक रुपमा सबल र सक्षम हुने नगरप्रमुख खांणको भनाई छ । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खांणले बताए ।

कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताए ।

सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल,भीम बहादुर गुरुङ,छबिलाल आले,श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा लगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनीहरुले कार्यक्रमको प्रभावकारिता रहेको भन्दै १४ वटै वडामा सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *