राष्ट्र बैंकको नयाँ निर्देशन: बैंकहरूले सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत खर्च एक वर्षभित्र गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक वर्ष बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषमा जम्मा भएको रकमको ६० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । यस विषयमा ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१’ जारी गर्दै राष्ट्र बैंकले बैंकहरुलाई अनिवार्य व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

मार्गदर्शन अनुसार इजाजतपत्र प्राप्त बैंकहरूले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षको अवधिमा खर्च गर्नुपर्नेछ । यसको उद्देश्य बैंकहरूको सामाजिक जिम्मेवारीलाई सशक्त बनाउने र समाजमा सकारात्मक योगदान पुर्याउने हो ।

बैंकका सञ्चालक समितिहरूले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यविधि तयार गरेर यस कार्यलाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेछ । बैंकहरूले शिक्षा, स्वास्थ्य, मानविय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्यका काममा यस्तो रकम खर्च गर्न पाउँछन् ।

वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्दा सरकारी, सामुदायिक तथा अन्य गैर नाफामूलक संस्थाहरूको लागि मात्र गर्नु पर्ने भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *