काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्यसहित विमेन्स फोरम गठन गरेको थियो। यस कम्पनीमा कार्यरत महिला कर्मचारीलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयमाथि छलफल गर्ने र समस्या देखिए समाधान प्रदान गर्न आवश्यक भूमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो।
यस फोरमले कम्पनीको प्रधान कार्यालय, थापाथलीमा, हरेक वर्ष मार्च ८ गतेका दिन मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ तथा अतिथि वक्ता दीपा दाहाल (उपकार्यकारी निर्देशक– नेपाल धितोपत्र बोर्ड) को सत्र राखी कार्यक्रम सम्पन्न गरेको छ।
अतिथि वक्ता दीपा दाहालले वित्तीय उद्योगमा महिलाको भूमिकाबारे आफ्नो अनुभव साझा गर्दै, उनीहरूको योगदान, चुनौती र अगाडिको बाटोमा प्रकाश पारेकी थिइन्। उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीलाई केही तथ्यांकमा प्रकाश पारी महिला सशक्तिकरणका लागि महिला आफैँले पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्नेमा जोड दिएकी थिइन्।
सिटिजन विमेन्स फोरमले नारी दिवसको अवसरमा कम्पनीका सम्पूर्ण कर्मचारीबीच रचनात्मक साहित्यिक प्रतियोगिता पनि आयोजना गरेको थियो। सो प्रतियोगितामा प्रतिस्पर्धा जनाएका कर्मचारीमध्येबाट उत्कृष्ट ५ जनालाई कार्यक्रममा आफ्नो रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो। प्रस्तुतिपश्चात चुनिएका पहिलो, दोस्रो र तेस्रो हुने कर्मचारीलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कृत गरेको थियो।
फोरमको संयोजक रीता पाठकले आचारसंहिता तयार गरी महिलाको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै फोरमले आउने समयमा यस्तै शैक्षिक कार्यक्रम सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप विभिन्न कार्य गर्ने सोच रहेको बताइन्।
कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत पोषकराज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनाउँदैं कार्यक्रम समापन भएको घोषणा गरे।
यस विमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीलाई सशक्तीकरण गर्नुका साथै महिलालगायत सबैको लागि उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समन्वय गर्ने र सोको सहजतका लागि विभिन्न कार्यक्रम सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैंगिक समानता कायम राख्न समन्वय गर्नु रहेको कम्पनीले जनाएको छ।







