काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
एफपीओ निष्कासन छिटोमा फागुन २१ र ढिलोमा चैत ३ गते निष्कासन बन्द गर्ने भनिएकोमा मागभन्दा बढी नै आवेदन परिसकेकाले आज बैंकिङ्ग समयपछि एफपीओ निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित सफट्वेय ‘मेरो शेयर’ अनलाईन प्रयोग गरेर आवेदन दिन सक्नेछन्।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
हाल यस कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।






