काठमाडौं। नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने भएको छ ।
यता, नेपाल माइक्रोको आईपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।






