काठमाडौं। नेपाल प्रहरीको नेतृत्व फेरबदल हुने दिन नजिकिँदै गर्दा अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा भावी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन्।
हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थापा नेपाल प्रहरीभित्र उत्कृष्ट कार्यसम्पादन क्षमता, नीतिगत दूरदृष्टि र उच्च नैतिक छविका कारण सशक्त दाबेदार मानिन्छन्। वरीयता सूचीमा पहिलो स्थानमा रहेका थापालाई मन्त्रिपरिषद्ले मेरिटका आधारमा निर्णय गरेमा आईजीपी बन्ने सम्भावना उच्च देखिएको छ।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा बसन्त बहादुर कुँवरसँगै एआईजीमा बढुवा भएका थिए। उनी हाल अनुसन्धानमुखी प्रहरी अधिकृतका रूपमा परिचित छन्। सीआईबीको नेतृत्व सम्हाल्दै आएका उनले विभिन्न गम्भीर अपराध अनुसन्धानमा सफलता प्राप्त गरेका छन्, जसले उनको कार्यक्षमताप्रति थप विश्वास दिलाएको छ।
नेपाल प्रहरीको ३१औं आईजीपी बन्नका लागि थापा, सुदीप गिरी र टेक बहादुर तामाङ प्रतिस्पर्धामा छन्। वरीयता सूचीमा थापा पहिलो, गिरी दोस्रो र तामाङ तेस्रो स्थानमा छन्। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । सरकारले वरिष्ठता र कार्यक्षमताका आधारमा आईजीपी चयन गर्ने परम्परा निरन्तरता दिए थापा नेतृत्वमा आउने पक्कापक्की छ।
अब मन्त्रिपरिषद्को निर्णयले नेपाल प्रहरीले कुन दिशामा अघि बढ्नेछ भन्ने निर्धारण गर्नेछ। तर हालसम्मको संकेतअनुसार दीपक थापा नै प्रहरी प्रमुख बन्ने सम्भावना बलियो देखिन्छ।






