स्वरोजगार लघुवित्तको एफपीओमा पहिलो दिनमै ३०.८८ गुणा बढी आवेदन

काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) को पहिलो दिनमा ६० करोड ४६ लाख २० हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

आज साँझ ५:०६ बजेसम्म ४ लाख ७१ हजार ७१८ जना आवेदकहरुले ६० लाख ४६ हजार २० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन सर्वसाधारणलाई खुला गरिएको सेयरको तुलनामा ३०.८८ गुणा बढी रहेको छ।

कम्पनीले आज (फागुन १८ गते) देखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *