ग्लोबल आईएमई बैंक लक्षित राष्ट्र बैंकको विज्ञप्ति: ‘निक्षेप सुरक्षित छ, गलत प्रचार नगर्नु’

काठमाडौं।  नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकविरुद्ध गलत प्रचार नगर्न आग्रह गरेको छ। बैंकले सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न समेत अनुरोध गरेको छ ।

व्यापारी चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल बैंकविरुद्ध ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोध गर्दै ‘नो केबलकार’ समूहले खाता बन्द गर्ने अभियान थालेपछि केन्द्रीय बैंकले आज आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सम्बन्धित बैंकको नाम उल्लेख नगरी जारी गरिएको  विज्ञप्तिमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ग्लोबल बैंकविरुद्ध हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ,- ‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ । सोहीबमोजिम सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ ।’

बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति भ्रमित नपार्न र हल्लाको पछाडि नलाग्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । लेखिएको छ, ‘सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’ केन्द्रिय बैँकद्वारा जारी विज्ञप्तिमामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *