उपप्रधानमन्त्री पौडेललाई आजै डिस्चार्ज गर्ने कीर्तिपुर अस्पतालको निर्णय, मेयर आचार्यको स्वास्थ्यमा सुधार

काठमाडाैं । जलनबाट कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गरिने भएका छ।

उनलाई सोमबार डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले जानकारी दिएको छ। ‘गत २ दिनदेखि उपचार गराइरहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यूको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराइन्छ। दुबै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ,’ अस्पतालले भनेको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको अस्पतालले जनाएको छ। उनको केही दिन थप उपचार हुने पनि अस्पतालले बताएको छ।

संक्रमणको जोखिम कायमै रहेकाले भेटघाट भने बन्द गरिएको अस्पतालले बताएको छ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा प्रज्ज्वलनशील पदार्थ भरिएको बेलुन बिस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य जलनमा परेका थिए। अर्थमन्त्री र मेयरको अनुहार, गर्धन, घाँटी तथा गालाको भागमा जलन भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *