काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले १० वर्षमा ६ लाख ३९ हजार १४८ वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका प्रमुख रमेश घिमिरेका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म मात्रै विद्यार्थीले ५५ हजार एनओसी लिएका छन् ।
यसैगरी गत आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार ९ सय ६८ विद्यार्थीलाई एनओसी दिइएको थियो । सबैभन्दा धेरै विद्यार्थीले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् । दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको शाखा प्रमुख घिमिरेले बताए ।
घिमिरेकाअनुसार नेपालको शिक्षा प्रणाली र अवसरहरूमा कमी रहेका कारण विद्यार्थीहरूले उच्च शिक्षाका लागि विदेशी गन्तव्यतर्फ ध्यान दिन थालेका छन् । एनओसी शाखाले यस्ता विद्यार्थीहरूको आवश्यकता र तयारीको हिसाबले अनुमति पत्रको प्रक्रिया निरन्तर सहज बनाउने प्रयास गर्दै आएको छ ।
यसैगरी २०७१/०७२ मा ३० हजार ७ सय ९७, २०७२/०७३ मा ३७ हजार १ सय ४८, २०७३/०७४ मा ५० हजार ७ सय ९६, २०७४/०७५ मा ५८ हजार ७ सय ५८, २०७५/०७६ मा ६३ हजार ४ सय १७, २०७६/०७७ मा ३३ हजार १ सय ९६ विद्यार्थीलाई एनओसी दिइएको थियो ।
त्यस्तै, २०७७/०७८ मा २८ हजार ८ सय ८३, २०७८/०७९ मा १ लाख १२ हजार ९ सय ६८, २०७९/०८० मा १ लाख १० हजार २ सय १७ र २०८०/०८१ मा १ लाख १२ हजार ९ सय ६८ विद्यार्थीहरुले वैदेशिक अध्ययनका लागि एनओसी लिइएका थिए ।






