काठमाडाैं । पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । गृहमन्त्रीस्तरीय रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
आइतबार बिहान गृहमन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्यसचिव छन्। साथै समितिमा एकजना विस्फोटक पदार्थ विज्ञसमेत हुनेछन्।
घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन्। उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ । प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ ।
शनिबार भएको सो घटनामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।






