काठमाडौँ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले पाथीभरा केबलकारको विषयलाई बैंकसँग जोड्न नमिल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत केबलकार बनाउने व्यक्तिगत विषयमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकलाई जोड्नु गलत भएको बताएका हुन् ।
उनले आफ्नो व्यक्तिगत फेसबुकमा एक स्टाटस लेखेर भनेका छन्, ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो।’
चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमइ बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न मक्कुमलुङ्ग बचाउ अभियानका १० वटा सँस्था र ९ वटा राजनीतिक दलहरु र नो केबलकार समूहले बैंकका शाखा प्रबन्धकलाई पत्राचार गरी शाखा कार्यालय बन्द गर्न अल्टीमेटम दिएपछि ग्लोबल आईएमई बैंकको पैसा झिक्ने र खाता बन्द गर्नेको संख्या ह्वात्तै बढ्यो। जसका कारण बैंकबाट एकैदिन १० अर्ब सम्म बाहिरिएको थियो।
बैंक तथा वित्तीय संस्थाको नियामक निकायका जिम्मेवार पदमा रहेकाले पौडेलले एउटा बैंकमा समस्य देखिंदा यसको असर सिंगो बैङ्किङ क्षेत्रमा पर्ने हुँदा यस्तो नगर्न भनेका हुन्।
ग्लोबल आईएमई बैंकका अध्यक्ष समेत रहेका व्यापारी चन्द्र ढकालले ताप्लेजुङको प्रसिद्द धार्मिक तीर्थस्थल पाथीभरामा स्थानीयको सहमतिबिना केबुलकार बनाउन लागेपछि स्थानीय ‘नो केबलकार’ समूहले पूर्वका ९ जिल्ला बन्द गरेको थियो । यसबाट देशमा जातीय एवं धार्मिक द्वन्द निम्तिने खतरा देखेपछि सरकारले असन्तुष्ट पक्षसँग केबलकार नबन्नेसहितका ६ बुंदे सहमतिपछि आक्रान्त बनेको पाथीभरा क्षेत्र शान्त छ।







