पाथीभरा केबलकार निर्माणको विरोध गर्दा पक्राउ परेका तीन जना धरौटीमा रिहा

ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए अनुसार, प्रदीप मादेनलाई १० हजार रुपैयाँ र लक्ष्मण लिम्बू चन्द्रसागर लिम्बूलाई ५-५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो।

यो आन्दोलन गत १२ माघमा पाथीभरामा केबुलकार निर्माण रोक्नका लागि भएको थियो। विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा तीन जना गम्भीर घाइते भएका थिए। त्यसको विरोधमा आन्दोलनरत पक्षले अरुण पूर्वका नौ जिल्लामा अनिश्चितकालीन बन्दको आह्वान गरेका थिए।

गृह मन्त्रालयको टोलीसँग २२ माघमा भएको वार्तामा केबुलकार निर्माण स्थगित गर्ने र आन्दोलनलाई रोक्ने सहमति भएको थियो। यसै सहमतिमा, पक्राउ परेका तीन जनालाई रिहा गरिएको जानकारी प्रहरीले दिएको छ।

यसअघि, ‘नो केबुलकार समूह’ ले २१ माघमा काठमाडौंको माइतीघर मण्डलामा गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको थियो। सरकारले उक्त समूहसँग वार्ता गर्न सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। सोही दिन ‘नो केबुलकार समूह’ ले पनि प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा आफ्नो वार्ता समिति गठन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *