देउवालाई सांसदहरुको चेतावनीः ‘ खुसुक्क ल्याइएको अध्यादेशप्रति हाम्रो आपत्ति छ’

काठमाडौं। सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको भन्दै नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाएका छन् ।

आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले छलफल नै नगरी अध्यादेश ल्याइएको भनी आपत्ति जनाएका हुन् ।

बैठकमा आज २० जना सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा उनीहरुले अध्यादेश ल्याउने बिषयमा छलफल नगरिएको र अध्यादेश आएपछिमात्रै थाहा भएको भन्दै आक्रोश  समेत व्यक्त गरेका थिए । आँफुहरुलाई थाहै नदिइ ल्याइएको अध्यादेश मान्य नहुने उनीहरुको भनाई छ ।

‘अध्यादेशको बारेमा केही साथीहरुले अहिले पनि हाम्रो सहमति छैन । किन यो अध्यादेश आउनु अगाडि सांसदहरुसँग छलफल गरिएन रु सांसदहरु पनि सार्वभौमसत्ता सम्पन्न हुन्, निर्वाचित भएर आएका हुन् । एकैचोटी आएपछि थाहा हुन्छ, यो कुरा ठीक भएन भनेर सांसदहरुले भन्नुभएको छ।’  कांग्रेस नेता तथा सांसद रामहरी  खतिवडाले भने ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुसँग समन्वय गरेर काम गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

‘सभापतिज्यूले अन्तिममा मन्त्रीज्यूहरुको काम अलिकति अप्ठ्यारो त होला । तरपनि सांसदहरुसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो,’– खतिवडाले भने ।

साथै, सात बुँदे सहमतिअनुसार सरकार पूरै अवधिसम्म जाने कुरामा कांग्रेसभित्र विवाद नरहेको उनले बताए । तर, गल्ती भएको कुरामा पनि गल्तीबारे खुलेर कुरा राख्न सभापति देउवाले निर्देशन दिएको खतिवडाको भनाइ छ ।

सांसद खतिवडाका अनुसार आगामी माघ १८ गते विहान पुनः संसदीय दलको बैठक बस्दै  । सोही दिन संघीय संसद्को हिउँदे अधिवेशन पनि आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *