काठमाडाैं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेको छ। नेप्से परिसूचक १०.४१ अंक घटेर २६४३.९३ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। आज ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँबराबर कारोबार भएकाे छ । १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन बोटलर्स नेपाल, दोल्ती पावर र जानकी फाइनान्सको शेयर तथा एनआईसी एशियाको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३९ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ३८ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर किनबेच भएको छ।







