काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका– ६ का किसानले यस वर्ष रु. पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु. दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु. तीन करोड ५० लाखबराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।

यस वडामा मात्रै झन्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको उनले जानकारी दिए। कँडेलले यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताए । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिमसमेत दिँदै आएको उनको भनाइ छ ।

गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका बिरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला– ६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु. १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै रु. एक लाखको बिक्री गर्न बाँकी रहेको बताए। आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष २१० बोटले फल दिएको उनको भनाइ छ ।

किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु. तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले रु. चार लाखभन्दा बढीमा बिक्री भएको बताए। व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *