काठमाडाैं । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रका लागि हेलिकोप्टर उडान रोक्ने निर्णय फिर्ता लिएको छ । कार्यालयले सबै हेलिकोप्टर कम्पनीहरूलाई एक पत्र लेखेर सगरमाथा क्षेत्रमा हेलिकोप्टर सेवा सञ्चालन गर्नको लागि नियमानुसार अनुमति लिन र तोकिएको राजस्व बुझाउन आग्रह गरेको छ । यस पत्रको प्रतिलिपि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि पठाइएको छ ।
सोमबार पठाइएको पत्रमा सगरमाथा क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्ने पर्यटकहरू, आकस्मिक उद्धार कार्यहरू, र आवश्यक सामग्री ढुवानीका लागि हेलिकोप्टर सेवा पुनः सुरु गर्न अनुरोध गरिएको छ। पत्रमा हेलिकोप्टर उडान, अवतरण, र ओभरिङ गर्दा सबै सुरक्षा मापदण्ड पालना गर्ने कुरा स्पष्ट गरिएको छ ।
यसअघि पुस १७ गते सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने निर्णय गरिएको थियो। यो निर्णय सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र अन्य स्थानीय संघसंस्थाहरूको सहमतिमा गरिएको थियो ।
हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरूले यस निर्णयको विरोध गर्दै आएका थिए ।






