कोठामा बालेको कोइलाको धुँवाले निस्सासिएर आमा छोराको मृत्यु

काठमाडौं।  चिसोबाट बच्न कोठामा कोइला बालेर सुतेका वीरेन्द्रनगर–४ भैरवस्थानका एकै परिवारका तीन जनामध्ये आमा र छोराको निस्सासिएर मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा ३० वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्ती रहेका छन्। ९ वर्षीया छोरी रिया घर्तीको प्रदेश अस्पताल सुर्खेतको उपचार कक्षमा उपचार भइरहेको छ।

बुधबार राति खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर उद्दार गर्दा उनीहरू अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले बताए।

उनका अनुसार तत्कालै अस्पताल पुर्‍याइए पनि चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले कोठामा झ्याल बन्द रहेको र तसलामा कोईला बलिरहेको अवस्थामा फेला परेको जनाएको छ। कोठामा भरिएको कार्बनमोनोअक्साइड ग्यासले अक्सिजनको मात्रा घटाएपछि निस्सासिएर उनीहरूको मृत्यु भएको पुष्टि भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *