काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कांग्रेस र एमालेको नेतामा हातमा नभएर दलाल र विचौलियाहरुको हातमा राजनीति रहेको दाबी गरेका छन् । राष्ट्रिय कर्मचारी महासङ्घको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तिनको हातमा राजनीति छैन् । बरु, उनीहरुको राजनीति विचौलिया र दलालहरुको हातमा छ भन्ने कुरा प्रष्टै देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन् । विचौलियाहरुले घुमाएर, विचौलियाहरुले आ आफ्नो घर रातका अध्याँरोमा लगेर, नेताहरुलाई उठबस गराएर, हामीले भनेको माने तिमीहरुलाई यहाँ राख्छौं नत्र राख्दैनौं भनेर गरिएका मुखौटाहरु भन्दाबाहेक केही पनि देखिएन ।’
उनले माओवादीले सरकार छोड्दै गर्दा जनताप्रतिको निष्ठासहित बाहिरिएको स्मरण गराए । उनले दलाल र विचौलियाले संख्याको तागत देखाएर कांग्रेस–एमालेको सरकार बनाईदिएको भन्दै अब जनताको ताकत देखाउने बेला आएको बताए ।
उनले भने- ‘ जनतामा हिजो हामीले गर्न खोजेको राम्रा कामहरु र अहिले एमाले नेतृत्वको सरकारले गरेका नराम्रा कामहरु दुई वटा मिलाउँदा जनताको आशा र भरोसा हामीप्रति बढेको छ।’







