भिभो बन्यो एनपीएलको आधिकारिक स्मार्टफोन साझेदार

काठमाडौं । भिभोले नेपाल क्रिकेट सङ्घ (क्यान)सँग नेपाल प्रिमियम लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गर्ने भएको छ । ‘हिमालयको महोत्सव’को रूपमा चिनिने यो प्रतियोगिता मङ्सिर १५ देखि पुस १ सम्म आयोजना हुँदैछ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का लगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । आईपीएल र युईएफए युरो कपजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत साझेदार रहिसकेको भिभोले अब नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा बोल्दै भिभो नेपालका सिइओ माइकल लिउले भने, ‘नेपालको सर्वाधिक प्रतीक्षित क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । खेलकुदको माध्यमबाट नेपाली जनतासँग जोडिन पाउनु हाम्रो लागि गौरवको विषय हो।’

क्यानका सचिव पारस खड्काले भने, ‘एनपीएलले नेपाली क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्नेछ। भिभोजस्तो विश्वस्तरीय ब्रान्डको साथले प्रतियोगिताको गरिमा बढेको छ।’

प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *