संगठनमा नरहेका व्यवसायीलाई सुन खरिदमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यावसायिक संगठनमा नरहेका व्यावसायीलाई सुन खरिदमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ ।

रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट सागर ढुंगानाले दिएको निवेदनमाथिको बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘यसमा, व्यवसायीहरूको संघ संगठनमा आबद्ध सुनको कारोवार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आबद्ध नभएका व्यवसायीहरूले सुन खरिद गर्न नपाई पेसा व्यवसाय सञ्चालन गर्न पाउने संविधान प्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको यस स्थितिमा निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरूका संघ संगठनमा आबद्ध नभएकै कारण सुन खरिद गर्न नरोक्नु, रोक्न लगाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४२(२) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। नियमानुसार पेस गर्नू।’

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनवाई गरेको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा र अन्य अधिवक्ताहरूले बहस गरेका थिए भने नेपाल राष्ट्र बैंकका तर्फबाट पनि अधिवक्ताहरू उपस्थित थिए ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरुलाई संग संगठनमा आबद्ध नभएपनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *