काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीविरूद्ध मुद्दा नचल्ने निर्णय गरेको हाे ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै नचल्ने निर्णय गरेका हुन् ।
पक्राउ परेका बाँकी आठजनासहित फरार तीनजनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । एक महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीनजनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।
उनीहरूको बयान र अन्य प्रमाणका आधारमा पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको न्यायाधिवक्ता अर्यालले बताए ।
उनले भने, “मन्त्री अधिकारी त्रिभुवन विमानस्थलबाट समेत एक्लै गएको देखिन्छ । पक्राउ परेकाहरूको बयानमा समेत उनीविरुद्ध केही छैन । र, अर्को महत्त्वपूर्ण कुरा जापानमा उनीसँगैका तीनजनालाई डिपोर्ट गर्दा उनी आफैँले प्रहरीलाई जानकारी गराएको देखिन्छ ।”
मन्त्री अधिकारीलाई डिपोर्ट नगरी आफूसँगै जापान पुगेकाहरूको नक्कली कागजपत्र देखेपछि आफैँ फर्किएको खुलेको छ ।
अर्थ सन्जाल