काठमाडौं । माउण्टेन इनर्जीले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो ।
माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो ।
माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।
माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउण्टेन इनर्जीले हकप्रद शेयर निष्काशन गर्न सक्ने देखिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चूक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ । यो अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ५३.९६ रुपैयाँ हुन आउँछ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५८.७७ रुपैयाँ रहेको छ ।
मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
अर्थ सन्जाल